नियम
कैद सजाय निलम्बन
(१) ऐनको दफा २४ बमोजिम अदालतले कसूरदारलाई भएको कैद सजाय निलम्बन गर्दा त्यस्तो बेहोरा फैसलामा उल्लेख गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम कैद सजाय निलम्बनको आदेश गर्दा निलम्बनको अवधिभर कसूरदारले ऐनको दफा २४ को उपदफा (४) मा उल्लेख भएका शर्तहरु पालना गरे नगरेको अनुगमन गर्ने अधिकारी समेत तोक्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम अनुगमन गर्ने अधिकारी तोक्दा अदालतले तहसिलदार वा अन्य निकाय वा अधिकारीलाई तोक्न सक्नेछ ।
(४) उपनियम (३) बमोजिम अनुगमन गर्न तोकिएको अधिकारीले कसूरदारको अनुगमन गर्दा देहाय बमोजिम गर्न सक्नेछः–
(क)     अनुगमन गर्ने अधिकारी आफैँले अनुगमन गर्न वा स्थानीय तह वा अन्य कुनै निकायलाई अनुगमन गरी नियमित रुपमा अदालतमा प्रतिवेदन पेश गर्न आदेश दिने,
(ख)   कसूरदार स्वयंलाई आवधिक रुपमा अदालतमा प्रतिवेदन पेश गर्न लगाउने।
(५) उपनियम (४) बमोजिम अनुगमन गर्ने जिम्मेवारी तोकिएको अधिकारीले अनुगमन गर्दा त्यस्तो कसूरदारले तोकिएका शर्तहरु पालना गरेको नदेखिएमा कैद सजाय निलम्बन गर्ने आदेश बदर गर्न अदालत समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ।
(६) यस नियम बमोजिम कसूरदारलाई भएको कैद सजाय निलम्बन गर्ने आदेश भएमा वा कैद सजाय निलम्बन गर्ने आदेश बदर भएमा त्यस्तो बेहोरा दण्ड जरिबानाको लगत किताबमा समेत जनाउनु पर्नेछ ।